Thursday, December 24, 2009

इतिहास छ रे

मेरो बाजेको इतिहास छ रे
रुँदै हाँसेको इतिहास छ रे

परदेशी हुन नगएस् भन्थे
भाँडा माँझेको इतिहास छ रे

गाउँमा पैसा नहुँदा खेरी
सामान साटेको इतिहास छ रे

पढ्ने लेख्ने त्यो उमेरमा
घाँस काटेको इतिहास छ रे

सुनाउनु मेरो नातीलाई भन्दै
दुःखमा बाँचेको इतिहास छ रे

Sunday, December 13, 2009

यो देशको नारा

बन्द हड्ताल यो देशको नारा
जय नेपाल यो देशको नारा

भन्छन् कृषि प्रधान देश हो
अनिकाल यो देशको नारा

कसरी आउँछन गौतम बुद्ध
संकटकाल यो देशको नारा

बेरोजगारी हड्छ हड्छ
हेरक साल यो देशको नारा

जो सत्तामा पुगे पनि त
आलटाल यो देशको नारा

Tuesday, December 8, 2009

पैसा लाग्दैन...

सोच्न पैसा लाग्दैन
खोक्न पैसा लाग्दैन

समयलाई रोकेर देखाउ
रोक्न पैसा लाग्दैन

नफाल्नु पीरको भारी
बोक्न पैसा लाग्दैन

दुःख गजलमा पोख
पोख्न पैसा लाग्दैन

गरेको कर्मको फल
भोग्न पैसा लाग्दैन

Wednesday, December 2, 2009

सबै सिकाए

मलाई मेरा बाले सबै सिकाए
हुर्काए अनि पाले सबै सिकाए

पढेर ठूलो भएस् भन्थे मलाई
स्कूलमा पनि हाले सबै सिकाए

दुनियाँ स्वार्थी छ बाँच्न जानेस्
यस्तै सिकाउन थाले सबै सिकाए


भन्थे पहिचान छैन खोजेस्
तेरो नाम हो काले सबै सिकाए


यो माटोलाई केही गर्नु छ तैले
दाइ भाइ आमाले सबै सिकाए