Monday, September 27, 2010

... अन्जान भै रहेछ

सुने घर आँगन मैदान भै रहेछ
कुरा एक कान दुई कान भै रहेछ

जसले साहित्य साहित्य हैन भन्थ्यो
आज उसैको सम्मान भै रहेछ

कहाँ छ आन्दोलनको उपलब्धी
व्यर्थै मान्छेको बलिदान भै रहेछ

कुकुरलाई घ्यू पच्दैन भन्थे
चर्चामा यही उखान भै रहेछ

गल्ती नदेख्ने र नसुन्ने गर्छ
यो दुनियाँ अन्जान भै रहेछ

Wednesday, July 21, 2010

...ढुङ्गाले भन्नेछ

समय आएपछि ढुङ्गाले भन्नेछ
वाध्य बनाएपछि ढुङ्गाले भन्नेछ

आजकाल मन्दिरमा तेरो के काम छ
भनेर जिस्काएपछि ढुङ्गाले भन्नेछ

कसमे कम कुनै दिन काम लाग्ला
मौका पाएपछि ढुङ्गाले भन्नेछ

कन्जुस बुढि र चलाख बटुवा थ्यो
खिचडि पकाएपछि ढुङ्गाले भन्नेछ

त पागल होस् भनेर बदलामा
गजल सुनाएपछि ढुङ्गाले भन्नेछ

Saturday, July 10, 2010

यसपाली रहेछ

ऊ रुनु यसपाली रहेछ
भन्थ्यो संसार जाली रहेछ

मैले मुटु धुन सकिन
भनेर घाउ पखाली रहेछ

पाएछ माया गरेको फल
छातीमा आगो बाली रहेछ

मेरो मनले मान्न सकेन
सबैले भन्थे दलाली रहेछ

सायद हरेस खाएर होला
मर्छु भन्न थाली रहेछ

Tuesday, June 1, 2010

...भनेर गएथ्यो

क्रान्ति गर्छु भनेर गएथ्यो
एकदिन मर्छु भनेर गएथ्यो

हेर्नु दुःखको सागरबाट
तार्छु र तर्छु भनेर गएथ्यो

अँध्यारोमा बाँचेको धेरै भयो
उज्यालो छर्छु भनेर गएथ्यो

तिम्रो सपना पुरा गर्नुछ
एक्लै लड्छु भनेर गएथ्यो

फर्केन छोरो आजसम्म
नजिक पर्छु भनेर गएथ्यो

Tuesday, May 11, 2010

... हामीहरु

साहित्यकार भनाउँदा हामीहरु
इतिहास बनाउँदा हामीहरु

सरकार र समाजले पाखा लाउँछ
कलम समाउँदा हामीहरु

पाठकले त्यो बेला के सोच्ला
मानौँ हराउँदा हामीहरु

पुग्छ केही पनि चाहिँदैन
लेखेर रमाउँदा हामीहरु

अन्याय सहन्नौं लेख्न छोड्दैनौ
डराउन्नौं डराउँदा हामीहरु

... कतिन्जेल बाँचिन्छ ?

आत्मा बेचेर कतिन्जेल बाँचिन्छ ?
गजल लेखेर कतिन्जेल बाँचिन्छ ?

भन्छन् सपनाको पैसा लाग्दैन
सपना देखेर कतिन्जेल बाँचिन्छ ?

मान्छेको अनुहार बदलि रहन्छ
ऐना हेरेर कतिन्जेल बाँचिन्छ ?

एकदिन सबैले मर्नु नै पर्छ
धर्तीमा टेकेर कतिन्जेल बाँचिन्छ ?

बाँचुन्जेल कमसेकम राम्रो बन
अरुलाई हेपेर कतिन्जेल बाँचिन्छ ?

Thursday, April 29, 2010

...उफ्री रहेछौं

अरुको आडमा उफ्री रहेछौं
तछाड मछाडमा उफ्री रहेछौं

बन्छौ कसरी स्वाभिमानी
कसैको ढाडमा उफ्री रहेछौं

जिन्दगी के हो जान्दा जान्दै
किन कवाडमा उफ्री रहेछौं

तराई कस्तो छ आएर हेर
त्यसै पहाडमा उफ्री रहेछौं

देशको माया छ नशा भन्छौ
हाड हाडमा उफ्री रहेछौं

Tuesday, April 20, 2010

बालाई सुनाए...

बाजेले मेरो बालाई सुनाए
भन्थे तेरो बालाई सुनाए

छोरा त सगरमाथा पुगेस्
त्यती अप्ठेरो बालाई सुनाए

हाम्रो खलकमा कसैले छोएनन्
चढेस् पजेरो बालाई सुनाए

महलमा बस्दैमा भुल्नु हुदैँन
छाप्रो कटेरो बालाई सुनाए

मैले त जीन्दगी बिताई सके
रैनछ अँधेरो बालाई सुनाए

Sunday, March 28, 2010

बहिनीले भन्थी...

जितेर आउनु बहिनीले भन्थी
नत्र नआउनु बहिनीले भन्थी

यो देशले तिम्रो रगत मागेमा
रगत बगाउनु बहिनीले भन्थी

आई लाग्ने माथि जाइ लाग्नु
र छप्काउनु बहिनीले भन्थी

युद्धको दुश्मन मित्र हुँदैन
भनेर कराउनु बहिनीले भन्थी

वीरका छोरा हौ वीर नेपाली
वीरता देखाउनु बहिनीले भन्थी

Thursday, March 18, 2010

....बहुत रुलायौ

बसाई सरेर बहुत रुलायौ
आँखा तरेर बहुत रुलायौ

भनेको भए म रोइदिन्थे
अभिनय गरेर बहुत रुलायौ

आकाशका तारा झार भन्दै
शरण परेर बहुत रुलायौ

मदिरा देखाएर तड्पाउँदै
भट्टीमा लगेर बहुत रुलायौ

लोग्ने मानिसले रुनु हुदैँन
यस्तै भनेर बहुत रुलायौ

.....कलम थियो

छेउमा टुकी र कलम थियो
एउटा दुखी र कलम थियो

प्राण बचाउन लेखेको होला
ढुकढुकी र कलम थियो

चन्द्रमा जिस्काउन ऊ सँग
चन्द्रमुखी र कलम थियो

सागरको बारेमा लेख्छु भन्दै
एक थुकी र कलम थियो

बरु उसले मलाई देखिन
नजिक पुगी र कलम थियो

Tuesday, March 2, 2010

म भन्नै सक्दैन...

मलाई देखेर रुन्छ म भन्नै सक्दैन
के-के लेखेर रुन्छ म भन्नै सक्दैन

त जा यहाँ रुनु हँदैन भन्छु
किन फर्केर रुन्छ म भन्नै सक्दैन

ऊ गएकी यही ठाउँ हो भन्दै
त्यहीँ टेकेर रुन्छ म भन्नै सक्दैन

कुनै-कुनै बेला कुन्नि के हुन्छ
बाटो छेकेर रुन्छ म भन्नै सक्दैन

अरु सामान्य भए वास्ता गर्दैनथेँ
मुटु बेचेर रुन्छ म भन्नै सक्दैन

भन्नु हुदैँन

बानी गन्दा भन्नु हुदैँन
मागेको चन्दा भन्नु हुदैँन

भोली तिनै उर्लिन सक्छन्
अबुझ जन्ता भन्नु हुदैँन

ऊ मदिराले मात्तेको छ
उसलाई अन्धा भन्नु हुदैँन

जस्तालाई नि उल्लु बनाउँछ
उसको धन्दा भन्नु हुदैँन

नत्र वनबास पुर्याउन सक्छ
छक्का र पाजा भन्नु हुदैँन

Monday, January 25, 2010

नआउन सक्छ

अदभुत नआउन सक्छ
देवदुत नआउन सक्छ

आउला मेलम्ची आउला
तर विद्युत नआउन सक्छ

सारा देश टुकि्र सक्यो
एकजुट नआउन सक्छ

कसरी मेरो बयान लियौ
त्यस्तो सबुत नआउन सक्छ

कलियुगमा समुन्द्र मथेँ
कालकुट नआउन सक्छ

Sunday, January 17, 2010

भार थेग्न सकिन्न...

अब भार थेग्न सकिन्न
यस्तो विजोग देख्न सकिन्न

आकाशमा बस मान्छेहरु
धर्तीमा खुट्टा टेक्न सकिन्न

चाल्नोमा पानी अडाए जस्तै
हातले सूर्य छेक्न सकिन्न

दुःखको पनि सीमा हुन्छ
मात्र दुःख खेप्न सकिन्न

साहित्य राजनीति हो भने
एकदिन गजल लेख्न सकिन्न

Saturday, January 9, 2010

लाज मान

युवा पुस्ता लाज मान
कुरा बुझ्दा लाज मान

छिमेकीले सिध्याई सके
चुस्दा चुस्दा लाज मान

चोरलाई रोक्न सकेनछौ
घरमा घुस्दा लाज मान

तिम्ले गरेको तिम्रो शिकार
आएर लुछ्दा लाज मान

नेपाली भनि धाक मार्छौ
अनि सुस्ता लाज मान

Wednesday, January 6, 2010

बुढापाकाले भन्ने गर्थे

बुढापाकाले भन्ने गर्थे
मेरा काकाले भन्ने गर्थे

मान्छेको जीन्दगी खरानी रै'छ
मलामी गा'काले भन्ने गर्थे

पिउनुको मज्जा अर्कै हुन्छ
पिएर आ'काले भन्ने गर्थे

थोरै चोर्नु नि चोर्नु हो
चोर डाँकाले भन्ने गर्थे

माया गर्छु म तिमीलाई
तिम्रा आँखाले भन्ने गर्थे