शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान
शीर्षक– बयान इजलासमा मलाई मेरै कविताहरूमाथि हात राखेर कसम खुवाइयोस् । श्रीमान् चुप लाग्नु भनेको सहनु हुँदै होइन यहाँ बिना बहस च्यातिदिएका छन् मैले राता अक्षरमा लेखेका मेरा राता कविताहरू । यदि, रातोको विषयमा नबोल्ने हो भने किन रातो हुन्छ सूर्य ? किन रातो हुन्छ रगत ? किन रातै बनाइयो झण्डा ? सम्झना छ मेरो आङ ढाक्ने च्यात्तिएको भोटो सँगै मैले देखेको मेरो बालक सपना त्यो पनि त रातै थियो । हिँड्ने बेलामा बैनीले मेरो निधारमा टाँसिदिएकी थिइन्– रातो कनिका । मैले अझै बिर्सिएको छैन मेरी आमाको सिउँदो पनि त रातै थियो । श्रीमान् किन सबै राताहरू नै बढी खतरा हुन्छन् ? –आगो –फूल –सिन्दूर –हस्ताक्षर – र लाजपुर्जा । श्रीमान् मेरो यो बयान सेतोको समर्थनमा भने हुँदै होइन यो रङ्गिन इजलासमा बहस गरियोस् किन सादा छ ? मेरी आमाको अनुहार सगरमाथाको रङ यी मान्छेहरूको मन र, मेरो देश । –कपिल अञ्जान कोहलपुर, बाँके
Comments
Post a Comment