कविताः मान्छे
क्रान्तिको श्रृंखलाबाट ब्यूँझिएँपछि
उनीहरूले देखेका हुन्
–टोपी खस्ने अग्ला हिमालहरू
–च्यादर बिछ्याएजस्ता खेतहरू
–रोवर्टभन्दा मेहनती मान्छेहरू
तिमीलाई थाहा छैन भने
यो उनीहरूको पनि देश हो
उनीहरू पनि हुन् यो देशका योद्धा
छाती तन्काएर
एक्लै उभिन सक्छन्–सीमानामा
उनीहरू क्रान्तिको टाउकोमा हिर्काएर
बनाउन सक्छन्
शिरलाई घन
र, घनलाई शिर
पुछ्न सक्छन्–सगरमाथाको पसिना
मर्न पनि सक्छन् यो देशको लागि
उनीहरूले बुझेका छन्
जन्मनु र मर्नुको अर्थ
उनीहरू
सुन्दैनन्–अप्रिय कुराहरू
सोच्दैनन्–पराजय
देख्दैनन्–दुश्मन
बोल्दैनन्–गल्ती
किनकि
उनीहरूको पैतालामुनि
यै देशको खिया लागेको छ
उनीहरूले पाएका छन्
–जिब्रो
–कान
–आँखा
उनीहरूसँग
–नसोध्नु जात
–नखोज्नु धर्म
–नहेर्नु आस्था
किनकि
मुगलान पुगेको उनीहरूको मन
यै माटोमा फर्काएका छन्
र, बोकेका छन् क्रान्तिको आगो
नछाउनू तालु च्यातिने गरी छानो
नबिछ्याउनू बाटो भरी काँडा
नबजाउनू विरक्त लाग्ने धुन
किनकि
एक हुल योद्धाहरू
आज पिठ्युँमा
देश बोकेर हिँडेका छन्
उनीहरूलाई थाहा छ
देश भन्दा ठूलो केही हुँदैन ।
कपिल अन्जान
Comments
Post a Comment