Tuesday, February 15, 2011

जल्लाद लेखिदियो

नियतीले निधारमा जल्लाद लेखिदियो
यस्तो लाग्छ उपहारमा जल्लाद लेखिदियो

बा आमाले के-के बनाउने सोचेका थे
किन त्यती हतारमा जल्लाद लेखिदियो

आकाश र धर्तीको दुरी नाप्न सक्दिन
मलाई मात्र संसारमा जल्लाद लेखिदियो

न जिन्दगी बदल्न सक्छु न न्याय पाउन सक्छु
कसैले हिजो अखबारमा जल्लाद लेखिदियो

पहिचान बनाउन अब बर्षौ लाग्नेछ
जोडेर गजलकारमा जल्लाद लेखिदियो

Monday, September 27, 2010

... अन्जान भै रहेछ

सुने घर आँगन मैदान भै रहेछ
कुरा एक कान दुई कान भै रहेछ

जसले साहित्य साहित्य हैन भन्थ्यो
आज उसैको सम्मान भै रहेछ

कहाँ छ आन्दोलनको उपलब्धी
व्यर्थै मान्छेको बलिदान भै रहेछ

कुकुरलाई घ्यू पच्दैन भन्थे
चर्चामा यही उखान भै रहेछ

गल्ती नदेख्ने र नसुन्ने गर्छ
यो दुनियाँ अन्जान भै रहेछ

Wednesday, July 21, 2010

...ढुङ्गाले भन्नेछ

समय आएपछि ढुङ्गाले भन्नेछ
वाध्य बनाएपछि ढुङ्गाले भन्नेछ

आजकाल मन्दिरमा तेरो के काम छ
भनेर जिस्काएपछि ढुङ्गाले भन्नेछ

कसमे कम कुनै दिन काम लाग्ला
मौका पाएपछि ढुङ्गाले भन्नेछ

कन्जुस बुढि र चलाख बटुवा थ्यो
खिचडि पकाएपछि ढुङ्गाले भन्नेछ

त पागल होस् भनेर बदलामा
गजल सुनाएपछि ढुङ्गाले भन्नेछ

Saturday, July 10, 2010

यसपाली रहेछ

ऊ रुनु यसपाली रहेछ
भन्थ्यो संसार जाली रहेछ

मैले मुटु धुन सकिन
भनेर घाउ पखाली रहेछ

पाएछ माया गरेको फल
छातीमा आगो बाली रहेछ

मेरो मनले मान्न सकेन
सबैले भन्थे दलाली रहेछ

सायद हरेस खाएर होला
मर्छु भन्न थाली रहेछ

Tuesday, June 1, 2010

...भनेर गएथ्यो

क्रान्ति गर्छु भनेर गएथ्यो
एकदिन मर्छु भनेर गएथ्यो

हेर्नु दुःखको सागरबाट
तार्छु र तर्छु भनेर गएथ्यो

अँध्यारोमा बाँचेको धेरै भयो
उज्यालो छर्छु भनेर गएथ्यो

तिम्रो सपना पुरा गर्नुछ
एक्लै लड्छु भनेर गएथ्यो

फर्केन छोरो आजसम्म
नजिक पर्छु भनेर गएथ्यो

Tuesday, May 11, 2010

... हामीहरु

साहित्यकार भनाउँदा हामीहरु
इतिहास बनाउँदा हामीहरु

सरकार र समाजले पाखा लाउँछ
कलम समाउँदा हामीहरु

पाठकले त्यो बेला के सोच्ला
मानौँ हराउँदा हामीहरु

पुग्छ केही पनि चाहिँदैन
लेखेर रमाउँदा हामीहरु

अन्याय सहन्नौं लेख्न छोड्दैनौ
डराउन्नौं डराउँदा हामीहरु

... कतिन्जेल बाँचिन्छ ?

आत्मा बेचेर कतिन्जेल बाँचिन्छ ?
गजल लेखेर कतिन्जेल बाँचिन्छ ?

भन्छन् सपनाको पैसा लाग्दैन
सपना देखेर कतिन्जेल बाँचिन्छ ?

मान्छेको अनुहार बदलि रहन्छ
ऐना हेरेर कतिन्जेल बाँचिन्छ ?

एकदिन सबैले मर्नु नै पर्छ
धर्तीमा टेकेर कतिन्जेल बाँचिन्छ ?

बाँचुन्जेल कमसेकम राम्रो बन
अरुलाई हेपेर कतिन्जेल बाँचिन्छ ?